काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।
उनीहरुबीच पार्टीको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ता भएको हो । भेटमा कोइरालाले साथीहरुले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले आफूले सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।
यस्तै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार अपरान्ह बैठक शुरू भएको हो ।
कांग्रेस बैठकले स्थानीय तहको चुनावमा गठबन्धन बनाउने कि नबनाउने भन्ने विषयमा औपचारिक निर्णय लिने सम्भावना छ । आजैको बैठकले चुनावमा टिकट बाँड्ने संसदीय बोर्ड गठन गर्ने तयारी गरेको छ ।