काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदको प्रलोभनमा परेर बादल, टोपबहादुर एमालेमा गएको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, “बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो, पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।”
आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने उनको भनाई छ । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो, आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ” मन्त्री पौडेलले भने ।
देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको बताए ।
माओवादीको लामो संघर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको मन्त्री पौडेलले बताए ।