धनुषामा स्थानीय र प्रहरीबीच झडप,८ सेल अश्रुग्यास प्रहार

11.5k Shares

काठमाडौं । धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ । 

धनुषाको विदेह नगरपालिका –६ स्थित तीनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

आगजनी गरिएको पसलको ५० मिटरको दूरीमा रहेको तीनकौरिया प्रहरीचोकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजनी गरेको स्थानीयको आरोप छ ।

उनीहरूले प्रहरीको कामकारवाही फितलो रहेको भन्दै प्रहरीविरुद्ध प्रदर्शन एवं नारावाजी गर्दै सडक अवरुद्ध गरेका थिए । सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको बताइएको छ । 

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दै नगर प्रमुखविरुद्ध नाराबाजीसमेत गर्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।  प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

डिएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमजोरी रहेको स्वीकार गरे । उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको बताए ।

यता, स्थानीयले भने मुख्य चोकमै यस्तो घटना हुँदासमेत प्रहरी समयमा नपुग्नु प्रहरीको कमजोरी रहेको भन्दै प्रदर्शन एवम् नाराबाजी गरिएको बताएका छन् । 

अहिले जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय, पीडित पक्ष र प्रहरीबीच छलफल भईरहेको बताइएको छ । 

आगलागीले किरानाको सम्पूर्ण सामान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार