काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन् ।
आज गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आयोजना गरेको गाउँ सभा–नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरूले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताएका छन् ।
पदमा दोहोरिने भन्दा पनि आउँदा दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्त्वपूर्ण भएको उनको भनाई छ । जनप्रतिनिधिले किन र केका लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताएका छन् । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरूको जीवनस्तर उकास्नका लागि नेताहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले जनताले पनि चुनावका बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।