काठमाडौं । पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् । पोखरा महानगर वडा नम्बर ९ का काँग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाएका छन् ।
उनले भने, ‘न्यायिक समितिमा समेत काँग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’
पोखरा महानगरमा काँग्रेसका ११ वडाअध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।