काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहको बैठकले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
आज बसेको असन्तुष्ट केन्द्रीय सदस्यहरुको बैठकले यसअघि अध्यक्ष मिश्रले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
९० भन्दा बढी सदस्य मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा रहेको संगठन विभाग प्रमुख निर्देश सिलवालले जानकारी दिए । उनले भने, ‘हामीले बोलाएको बैठकमा ९० जनाभन्दा बढीको उपस्थित थियो । ४० जना भौतिक र ५० जना अनलाइनमार्फत जोडिनुभएको थियो । ’
‘९० जना केन्द्रीय सदस्यहरु मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा हुनुहुन्छ । उहाँले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेका छौं ’ उनले भने ।
असन्तुष्ट समूहको बैठकको निर्णय लिएर सिलवालसहितको टोली अहिले निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा उनीहरुले आफूहरुले पार्टीको आधाकारिक केन्द्रीय कमिटिबाट उक्त निर्णय गरेकाले सदर गरिदिन माग गरेका छन् ।