काठमाडौं । सर्वोच्च अदालतले नेकपामा आबद्ध दुवै दललाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि पनि दल विभाजनको समस्या टरेको छैन । दुई समूहमा देखिएको झगडाले अहिले एमालेमा समानान्तर कमिटी गठन भएका छन् ।
एमालेमा प्रम तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव रहनेगरी पार्टीलाई महाअधिवेशन आयोजक समितिमा परिणत गरेपछि माधव नेपाल समूहले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह र दल दाबीको विषयलाई लिएर पूर्ववत् अवस्थामा फर्किएर पनि सत्तारूढ हुन पुगेको एमालेमा अहिले फेरि अर्को नयाँ विभाजनको सीमारेखा कोरिन पुगेको छ ।
एमाले र माओवादी केन्द्र हुन पुगे पनि दुई दलका नेता तथा कार्यकर्ता भने त्यति सन्तुष्ट देखिँदैनन । त्यसमा पनि एमालेमा आउन थालेको पछिल्लो विभाजनले कार्यकर्तामा नमीठो सन्देश दिएको छ ।
दुवैले आआफ्नो समूहको नयाँ कार्य विभाजन अनुसारको जिम्मेवारी हेरफेर गर्दै अघि बढिरहेका छन् । दुवैको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा आआफ्ना इन्चार्ज तोकेर महाधिवेशन तथा राष्ट्रिय भेलाको तयारीलाई अघि बढाइसकेका छन् ।
यो अवस्थामा देशको राजनीतिक अवस्था पहिलेको भन्दा झनै तरल र अस्थिर बन्दै गइरहेको छ ।