काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीमाथि गठबन्धन सरकार निर्मम रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।
मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले सुकुम्बासीमाथि बञ्चरो चलाएको आरोप लगाएका हुन् ।
उनले लालपूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलाएको आरोप लगाइ। उनले भने,‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो। हामीले सुकुम्बासी समस्यासमाधान गर्न आयोग बनायौं तर भूमीहीनलाई धनी पूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो।’
अहिलेको सरकारले फाइलसमेत लुकाएको भन्दै उनले फाइल भेट्टाएपछि जग्गा बाँड्ने बताए । २०७४ साल चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यू टावर ४ वर्षमा निर्माण सम्पन्न गरिएको हो । तिलोत्तमा नगरपालिकाले यो भ्यूटावर, भ्यूटावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दाबी गरेको छ ।