काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा स्थापना भएको तरकारी बजारको उद्घाटन गरेका छन्।
झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी पसलको ओलीले बुधबार उद्घाटन गरेका हुन्।
बजारको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। सूर्यविनायक नगरपालिका ८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।
उद्घाटनपछि ओलीले प्रसाईंले जुन सोच अगाडि सारेर तरकारी बजार खोले उनी धन्यवादको पात्र रहेको बताए। ओलीले भने, ‘म यस तरकारी बजारको सफलताको निम्ति शुभकामना भन्न चाहन्छु, यो बजारले यहाँका किसानको जीवन उठाउन र कृषिको आधुनिकीकरण, अर्ग्यानिक खेतीका लागि प्रोत्साहित गर्नेछ।’
उनले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, कृषिको शुद्धीकरण सुरू भएको बताएका छन् । ‘विषादीयुक्त तरकारी भान्सामा नपुगोस् यसतर्फ पनि ध्यान दिन जरूरी छ। यस सफलताको निम्ति खुसी व्यक्त गर्न मन लागेको छ, नेपालमा सबैभन्दा ठूलो कृषि थोक बजार यही होला। प्रसाईंजीलाई बधाई भन्न चाहन्छु। यस्ता विभिन्न प्रकारका काम उहाँले थुप्रै गर्नुभएको छ’ ओलीले भने ।
प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएका छन्। तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र दुई हजार दुई सय स्टल राखिएको प्रसाईंले बताए।