काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताएका छन्।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै होइन, जनता –जनताको स्तरमा पनि सम्बन्ध रहेको बताएका छन्।
उनले भने, ‘यो सम्बन्धलाई अझ प्रगाढ बनाउने, विकसित गर्ने र हाम्रा बीचमा देखिएका समस्याहरु छन्, त्यसलाई उच्चस्तरको राजनीतिक र कूटनीतिक माध्यमद्वारा हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यसपटकको प्रधानमन्त्रीको भ्रमण सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।
उनले गठबन्धनको बैठकमा पनि दुई देशको बीचमा रहेको सम्बन्धलाई कसरी थप सुदृढ बनाएर लैजाने भन्ने छलफल भएको बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्दैछन्।