काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ ।
माओवादीले वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३०० वडा र ११६ पालिकामा जित निकालेको थियो । निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने माओवादीको केन्द्रीय कार्यालयका इन्चार्जसमेत रहेका पूर्वमन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता पुनले भने, ‘हामी आफ्नै तागतमा विश्वास गछौँ । विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौँ ।’
उनले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पारे । अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उनको भनाइ छ ।
अन्य पार्टीले जितेका भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माणको काम प्रभावकारी भएको तथा अन्य सूचक समेत राम्रो भएको जनाउँदै उनले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो ।