ओलीलाई धम्कीको भाषा नबोल्न भट्टराईको यस्तो छ चेतावनी

10.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका छन् ।

आज मंगलबार ललितपुरमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न भट्टराईले चेतावनी दिएका हुन् ।

सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारबाही हुन सक्ने संकेत गरेका प्रधानमन्त्रीलाई भट्टराईले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिए । प्रधानमन्त्रीको कारबाही गरेर राजनीतिक अगाडि नबढ्ने भन्दै उनले आफूहरू कारबाही भोग्न तयार रहेको बताए ।

प्रधानमन्त्रीको दुःखमा दुई थोपा आसु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उनले इतिहासको कठघरामा उभिँदा आइपर्नसक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारबाही गर्ने दाबी गरे ।

'हामी सबै एकपछि अर्को कारबाहीको निम्ति लामबद्ध छौँ । कारबाही खानको लागि तयार छौँ । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनको लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन,' उनले भने, 'जब इतिहासको कठघरामा तपाईं उभिनुभएको छ । जब इतिहासले सोधेका प्रश्नको तपाई उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ । सायद त्योबेला तपाईंको निम्ति दुई थोपा आँसु चुहाउने मान्छे नहुन पनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौँ । संयमताका साथ अगाडि बढौँ ।

ताजा अपडेट
सम्बन्धित समाचार