उम्मेदवारको नाम चार दिनभित्र सिफारिस गर्न कांग्रेसको निर्देशन

19.9k Shares

काठमाडौं । नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ ।

कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै बैशाख २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो । प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्षरउपाध्यक्ष र मेयर–उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन गरेको बताए ।

कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका–नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ–नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ । विधानअनुसार उम्मेदवार चयन गरेर पठाउन निर्देशन गरिएको प्रवक्ता महतले बताए ।

कांग्रेसले चैत्र २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ । त्यस्तै, चैत्र २२ गते पालिका तहमा बैठक बस्नेछ । बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ । प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ ।

वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले टुंगो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुंगो लगाउनेछ । नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुंग्याउने विधानले व्यवस्था गरेको छ ।

यसरी विधानअनुसार क्रमशः तल्ला तहबाट माथिल्लो तहमा उम्मेदवारको नाम सिफारिस भइ आउने व्यवस्था छ । जसअनुसार चैत्र २३ गते पालिका तहले प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ भने चैत्र २४ गते प्रदेश क्षेत्रीय कार्यसमितिको बैठक बसेर रायसहित चैत्र २५ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरी पठाउनेछ । वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिस बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले संसदीय समितिमार्फत् वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउनेछ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार