काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीचको सीमा समस्या ढिलोचाँडो समाधान हुने बताएका छन् ।
महतले भने, “भारतको सद्भावना भ्रमणका क्रममा प्रधानमन्त्री शेबरहादुर देउवाले नेपालले उठाउनुपर्ने विषय, चासो र चिन्ता निर्धक्कसँग उठान गर्नुभयो । सीमा समस्याको कुरा केपी ओलीजी सत्तामा हुँदा कुरासम्म उठेन । यसलाई हामीले गम्भीरतापूर्वक उठायौं । भारतले तत्काल प्रतिक्रिया नदिए पनि कूटनीतिक वार्ता अघि बढाउने संकेत मिलेको छ । ढिलोचाँडो सीमा विवाद समाधान हुन्छ । यसमा वार्ताभन्दा अरु बाटो छैन ।”
प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल रहेको उनको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालयमा जानु गलत नभएको उनको टिप्पणी छ ।
“प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा बीजेपी हेडक्वार्टरमा गएर केही गलत भएको छैन । सरकार र सरकारबीचको मात्र होइन, पार्टी र पार्टीबीचको सम्बन्ध पनि छ । केही महिनाअघि म पनि नेपाली कांग्रेसको नेतृत्व गर्दै भाजपाको अफिसमा गएको थिएँ, उताबाट भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले आउनुभएको थियो । नेपालको सत्तारुढ पार्टीको सभापति भारतको सत्तारुढ पार्टीको मुख्यालयमा जानुहुन्न भन्ने कुन व्याख्याता हो ? यसमा कूटनीतिक मर्यादाको के कुरा छ र ?” उनले भने ।