काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् ।
नेकपा एमाले पार्टी कार्यालय धादिङबेसीमा प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासको एजेन्डा बोकेर निर्वाचनमा होमिएको बताए । सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहे पनि स्थानीय स्थिति हेरेर तालमेलको निर्णय लिन सकिने बताए ।
यो सरकारले देशलाई दुर्घटनातिर लगेको भन्दै उपाध्यक्ष बादलले सदन अस्तव्यस्त भएको र न्याय व्यवस्था भताभुङ्ग बनेको बताएका हुन् । यस्तो अवस्थामा देशले ठूलो चुनौतीको सामाना गरिरहेको बताउँदै नेकपा एमाले जनादेशको माध्यमबाट यो देशको बाटो आफ्नो हातमा लिन चाहेको उनले बताए ।
देशको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको छ । ‘एकातिर नेपाली कांग्रेसको नेतृत्वमा अपवित्र गठबन्धन छ भने अर्कोतिर नेकपा एमालेको नेतृत्वमा सबै देशभक्तहरू, लोकतान्त्रिक शक्तिहरु उभिएका छन् । आगामी निर्वाचनमा हाम्रा मूल एजेन्डाहरूलाई लिएर चुनावमा होमिन तयार छौं‚’ नेता बादलले भने ।