काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका क्रममा विद्यालय एक दिनमात्र पूर्ण रुपमा बन्द रहने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन हुने दिन सार्वजनिक बिदा नै हुने र मतदानको अघिल्ला दुई दिन केही विद्यालयको पठनपाठन बन्द हुने आयोगले जानकारी दिएको छ। निर्वाचन प्रचारप्रसारको अवधि (वैशाख १७ देखि २७ सम्म) शैक्षिक संस्था र विद्यार्थीलाई कुनै पनि प्रकारको प्रभाव पार्न नपाइने आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आचारसंहिताले विद्यालय, विश्वविद्यालय जहाँ शैक्षिक संस्था छन् ती स्थानमा आमसभा, जुलुसलगायत गतिविधि केहि नगर्न र राजनीतिक क्रियाकलापहरु बन्देज लगाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। मतदान केन्द्र तोकिएका विद्यालयमा दुई दिनसम्म पठनपाठन अवरुद्ध हुनेछ। यसबाहेक विद्यालयलाई लामो बिदा दिने र अप्ठ्यारो हुने सम्भावना नरहेको अर्यालले बताए।
१ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले देशभरका विभिन्न १० हजार ७५६ मतदानस्थल अन्तर्गतका २१ हजार ९५५ मतदान केन्द्रबाट मत हाल्नेछन्। अधिकांश विद्यालय तथा कलेज विश्वविद्यालय मतदान केन्द्रको रुपमा प्रयोग हुनेछन्।