काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । आवश्यक तयारी नपुगेका कारण निर्णय गर्नका लागि डाकेको बैठक बिहान आकस्मिक रुपमा स्थगितगरेको छ ।
जनता समाजवादी पार्टीले सरकारमा जाने/नजाने भनि अधिकांश नेताहरु पार्टी कार्यालय बालकुमारी पुगिसकेका बेला बैठक स्थगित भएको सूचना जारी गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउने आकलन गरिरहेको समयमा जसपाले अनिश्चितकालका लागि बैठक स्थगित गरेको बताए ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले तयारी नपुगेपछि स्थगित गर्नुपरेको बताए। उनले अर्को बैठक अब होलीपछि मात्र बस्ने जानकारी दिए। यस वर्षको होली चैत १५ र १६ गते परेको छ। किन आकस्मिक रुपमा बैठक स्थगित भयो भन्ने पत्रकारहरुको प्रश्नमा उनले तयारी नपुगेको जवाफ दिए।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य छन्। जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्। दुई पक्ष आ आफ्नै अडानमा बसेपछि पार्टी फुटमा जाने खतराका कारण अर्को बैठक कहिले बस्ने भन्ने मिति तोकिएको छैन ।