काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ ।
७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा २३ वर्षीय दिनेश पोखरेलले आक्रमण गरेको प्रहरीले जनाएको छ । गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ ।
परिवारका सदस्यसँग गफगाफ गरिरहेको अवस्थामा एक्कासी खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताए । आक्रमण गर्ने पोखरेल धनकुटा –६ बस्ने गुरागाईंका छिमेकी हुन् । आक्रमण गरी फरार रहेका पोखरेललाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।