काठमाडौँ । स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ।
आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो। सोमबारको बैठकमा भागबण्डामा सहमति जुट्न नसकेपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपील जारी गर्दै गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन अपील गरेका थिए।
प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।