काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री भुसाल र राजदूत डिन म्याकेबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको स्रोतको भनाई छ । ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
उनले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन् ।
भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए ।