काठमाडौँ। कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि सिफारिस गर्ने उम्मेदवार छान्न नेकपा एमालेले आज मतदान गर्दै छ ।
एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान गर्न लागेको हो । अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
नगर कमिटीले मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा।डा। विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।
मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु हुन् । मीना गुरुङ, पृथ्वीसुब्बाकी सम्धिनीसमेत हुन् । यो समूहलाई सचिव पद्मा अर्यालको समेत साथ छ ।
यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी भने स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । सावित्री जिल्ला समन्वय समिति उपाध्यक्ष पनि हुन् ।