काठमाडौँ । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग तालमेल गर्ने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो ।
ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धन स्रोतले जनाएको छ । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको बताए ।
स्रोतका अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ । राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताए । राप्रपाले अध्यक्ष राम थापालाई नै मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । गठबन्धनको तर्फबाट दमकमा माओवादीले उपमेयर पाउने सम्भावना छ ।