काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।
सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताएका हुन् ।
थापाले भने, ‘ नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस् ।’
आफू विभिन्न जिल्लाका नेता कार्यकर्तासँग सम्पर्कमा रहेको थापाको भनाई छ । ‘ ५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदातादेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबरजस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्नसक्छन् भन्ने उनीहरूको भनाइ छ’, उनले भने ।
उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए । उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।