काठमाडौँ । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज टिकट वितरण गर्दैछ ।
जनमतले आज पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्न लागेको पार्टीका नेता बिपी साहले जानकारी दिए । साहका अनुुसार पार्टीले तय गरेका उम्मेदवारहरूलाई केन्द्रीय सचिवालयबाट मनोनयन पत्र वितरण गर्ने निर्णय भएको छ ।
वडाध्यक्षको भने मनोनयन पत्र वितरण ७ र ८ वैशाखमा हुने उनले जानकारी दिए । मधेस प्रदेशका उम्मेदवारहरूलाई जनकपुरधाम, प्रदेश–१ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्न लागिएको हो ।
जनमतका उम्मेदवारहरूले मनोनयन पत्र लिनुअगावै पार्टीको अनुशासनमा बस्नुपर्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । त्यस्तै, उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्नेछ ।