काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएका डब्लूएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट गरेका हुुन् ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लूएचओको महत्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणका लागि समय निकाल्नुभएकोमा खुसी व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठिन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गर्दै गेब्रेयससको योगदानलाई विश्वले सधैं सम्झिरहने बताएका छन् ।
डब्लूएचओले स्थापनादेखि नै विश्वकै जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।