काठमाडौँ । बेलबारी नगरपालिकामा शुक्रबार आयोजित नगर सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ३ दशकभन्दा बढी सत्ता सम्हालेका राजनीतिक दलले मुलुकलाई बेरोजगार उत्पादनको कारखाना बनाएको बताएका छन्।
०४६ सालको प्रजातन्त्र स्थापनापछि मुलुकमा एकपक्षीय ढंगबाट सरकारको नेतृत्व गरेका दलले नागरिकलाई नागरिकता दिएर खाडी मुलुकको गुलामी बनाएको आरोप लगाए।
हालका दल सुध्रिएर देश बनाउलान् भन्ने सन्दर्भमा उनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने बताए। राजनीतिक दलप्रति तिखो टिप्पणी गर्ने क्रममा उनले हाल मुलुकका ३ अंगबीच सन्तुलनसमेत कायम हुन नसकेको आरोप लगाए।
विदेशीको टाङमुनि एकपछि अर्को गर्दै तँछाडमछाड गरी छिर्ने यी पार्टीहरूको बाकस खाली गरिदिन उनले आग्रह गरे। मुलुक बिगार्ने दल र नेता मात्र दोषी नभएको भन्दै अध्यक्ष लिङदेनले सही व्यक्ति चयन गर्न नसक्नु जनताको भूमिका पनि उत्तिकै अहं रहेको बताए।