काठमाडौं । नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाको नाम सिफारिस भएको छ ।
वीरगञ्ज महानगर कमिटीले आकांक्षी १३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको हो । केन्द्रबाट गठबन्धन गर्दा वीरगञ्ज महानगरपालिकामा कांग्रेसले उप मेयर पाएको छ ।
उपमेयरका लागि हालकी उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, नेतृ डाक्टर सुस्मा तिवारी, नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्सवभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ, विद्या श्रेष्ठको नाम सिफारिस भएको नेपाली कांग्रेस महानगरपालिका समिति स्रोतले जनाएको छ ।
मेयरका आकांक्षीहरु पनि उपमेयरमा दाबेदारी दिन आएपछि आकांक्षीको संख्या बढी देखिएको हो ।
नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ मेयरका आकांक्षी थिए ।