आज काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता

11k Shares

काठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै विभिन्‍न वडाको वडाध्‍यक्षमा २३ जना र वडा सदस्‍यमा ८ जनाको उम्‍मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुनेछ । भोलि साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता सक्ने आयोगको कार्यतालिका छ ।

काठमाडौंको मेयरका लागि पहिलो नम्बरमा आनन्द राज जोशीले उम्मेदवारी दर्ता गरेका थिए । उनी काठमाडौं महानगरपालिका १९ वडा निवासी हुन् । जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव हुन् । जोशीको प्रस्तावकमा सरोज शाही र समर्थकमा सरला शाही रहेका छन् ।

काठमाडौं नं .१४ का रविकान्त मानन्धरले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं १६ निवासी राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । कार्कीको प्रस्तावकमा सुनिल नकर्मी र समर्थक राम प्रजापति रहेका छन् ।

र्‍यापर बालेन शाह पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौं ३२ निवासी शाहको प्रस्तावक प्रतिश श्रेष्ठ हुन् भने समर्थक प्रेमकृष्ण श्रेष्ठ रहेका छन् ।

यस्तै विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का रामबहादुर खड्का,मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङ,मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्य र ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

यस्तै उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी,काठमाडौं १५ की निवासी अमोट महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

यसैगरी, काठमाडौंको मेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ , डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार