काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने गरेका छन् भने एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।
यता एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । कांग्रेस–माओवादी र राप्रपाबीचको लामो संवादपछि भएको सहमतिअनुसार राप्रपाका पुराना नेता तथा पूर्वनगरप्रमुख राम थापालाई प्रमुखमा उम्मेदवार बनाउने र दुई वडा १ र ७ मा वडाध्यक्ष दिने, उपप्रमुखसहित ४ वडा २, ६, ८ र ९ मा वडाध्यक्ष कांग्रेसलाई दिने र ४ वडा ३,४, ५ र १० माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।
माओवादी नगर अध्यक्ष रवि बस्नेतले प्रदेश र संघीय चुनावसम्मै यो गठबन्धन रहने पनि तीन दलबीच लिखित सम्झौता भएको जनाए ।