काठमाडौं । निर्वाचन आयोगले समय अभावका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्न नसकिने स्पष्टीकरण दिएको छ ।
नेकपा एमालेले मतपत्र छपाइका विषयमा प्रश्न उठाएपछि आज विज्ञप्ति जारी गर्दै आयोगले अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्न नसक्नुको प्रमुख तीन कारण दिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ महानगरपालिका र भक्तपुरका ४ स्थानीय तहमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छाप्ने घोषणा गरेको थियो । तीबाहेक अरु स्थानीय तहको भने मनोनयन दर्ता अघि नै मतपत्र छाप्न सुरु गरिसकेको छ ।
नेकपा एमालेले आयोगको यो निर्णयमा आपत्ति जनाउदै पहिले छापिएका मतपत्रहरु नै प्रयोग गर्नुपर्ने माग गरेको थियो । निर्वाचन आयोगको दाबी भने फरक छ । निर्वाचन आयोगले अहिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि १५ दिनको समय छ । उसले १५ दिनको छोटो अवधिमा देशभरका मतपत्र छाप्न नसकिने भनी असमर्थता जनाएको छ । मतपत्र भण्डारण गर्ने पूर्वाधारको उपयोग, सुरक्षा संवेदनशीलता अनि ढुवानी व्यवस्थापनका कारणले सबैतिरको मतपत्र एकसाथ छाप्न सम्भव नहुने आयोगको भनाइ छ ।
निर्वाचन आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा समेत दल दर्तापछि मतपत्र छाप्न सुरु गरिएको भन्दै यसपटक पनि त्यही प्रक्रियालाई अवलम्बन मात्रै गरेको बताएको छ ।
अन्तिम नामावली प्रकाशनपछि मात्रै मतपत्र छाप्नु उचित भएपछि ७५३ स्थानीय तहका ६७४३ वडाहरुका लागि छुट्टाछुट्टै मतपत्र छाप्न नसकिने भन्दै आयोगले कठिन भौगोलिक अवस्थाका कारण समयमा ढुवानी गर्न सम्भव नहुने औंल्याएको हो ।