सभामुख अग्नीप्रसाद सापकोटाकै गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । माओवादीबाट गाउँपालिका अध्यक्षमा रेशम स्याङ्बो र उपाध्यक्षमा कांग्रेसबाट हिमाल श्रेष्ठले सँगै उम्मेदवारी दर्ता गरेका हुन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि जुगलमा झैं माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोहि गाउँपालिकामा कांग्रेस-माओवादी-समाजवादीको तालमेलबाट अध्यक्षमा माओवादी केन्द्रबाट दोर्जे स्याङ्बो र उपाध्यक्षमा कांग्रेसबाट गंगा चापागाईंले उम्मेदवारी दर्ता गराए । यसैगरी सभामुख सापकोटाकै गाउँको इलाका क्षेत्र चौतारा साँगाचोकगढी नगरमा माओवादी-कांग्रेसबीच तालमेल हुन सकेन । फलस्वरुप माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण सापकोटा मेयर र एकीकृत समाजवादीकी नेतृ सीता थापा उपमेयरमा उम्मेदवार भए ।
जिल्लाभर स्वतन्त्र अध्यक्ष उम्मेदवारीमा ५ जनासहित जम्मा १ हजार ९ सय ७४ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन् । ‘सम्पूर्ण विवरण आइसकेको छैन, आएपछि तथ्यांक संकलन हुनेछ,’ जिल्ला निर्वाचन कार्यालयका विदुर रायमाझीले भने ।
यस्ता छन् दलका उम्मेदवार
कांग्रेसले वैशाख ३० मा हुने स्थानीय निर्वाचनको मेयर र उपमेयरको उम्मेदवार पुरानै अनुहारलाई बनाएको छ । केहीबाहेक अधिकांश स्थानीय तहमा अघिल्लो स्थानीय निर्वाचनमा बढी पराजित र विजयी पुरानै अनुहारलाई उभ्याएको छ भने माओवादी केन्द्र र एमालेले यसअघि नै आफ्ना केही स्थानीय तहबाहेक अन्यमा नयाँ अनुहार उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । जिल्लाभरको १ सय ३ वडाभरिमा वडाध्यक्ष, सदस्य, दलित सदस्यले आफ्नो उम्मेदवारी दर्ता सकिसकेका छन् ।
भोटेकोशी गाउँपालिका
कांग्रेस : पासाङनुर्प लामा (अध्यक्ष), दिछेन लामा (उपाध्यक्ष)
एमाले : अमृत खड्का (अध्यक्ष)/सुन्तलीमाया श्रेष्ठ (उपाध्यक्ष)
माओवादी केन्द्र : राजकुमार पौडेल(अध्यक्ष), आशा गुरुङ (उपाध्यक्ष)
स्वतन्त्र : दिपेन्द्रकुमार श्रेष्ठ (अध्यक्ष)
बाह्रबिसे नगरपालिका
कांग्रेस : बालकृष्ण बस्नेत (मेयर), मञ्जु तामाङ (उपमेयर)
एमाले : निमफुञ्जो शेर्पा (मेयर), सुशिला पाख्रिन (उपमेयर)
माओवादी केन्द्र : बुद्धराज बस्नेत (मेयर),पातली थामी (उपमेयर)
त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस : भक्तध्वज बोहोरा (अध्यक्ष), गिता नेपाल (उपाध्यक्ष)
एमाले : मेघनाथ पौडेल (अध्यक्ष), सविता श्रेष्ठ (उपाध्यक्ष)
माओवादी केन्द्र : बिर्खबहादुर श्रेष्ठ (अध्यक्ष), मिना लामा (उपाध्यक्ष)
लिसंखुपाखर गाउँपालिका
कांग्रेस : जेठा तामाङ (अध्यक्ष), बबिता योञ्जन (उपाध्यक्ष)
एमाले : सूर्यबहादुर लामा (अध्यक्ष), मिठू लामा (उपाध्यक्ष)
माओवादी : राजु लामा (अध्यक्ष), राममाया तामाङ (उपाध्यक्ष)
सुनकोसी गाउँपालिका
कांग्रेस : श्रवणकुमार जिसी (अध्यक्ष), कान्छीमाया तामाङ (उपाध्यक्ष)
एमाले : टपिन्द्र तिमिल्सना (अध्यक्ष), मञ्जु भण्डारी (उपाध्यक्ष)
माओवादी : अर्चना खड्का (अध्यक्ष), दुर्गा थापा (उपाध्यक्ष)
बलेफी गाउँपालिका
कांग्रेस : सुवास तिमल्सिना (अध्यक्ष), सरु थोकर (उपाध्यक्ष)
एमाले :नारायणकाजी श्रेष्ठ (अध्यक्ष), सपना थापा (उपाध्यक्ष)
माओवादी केन्द्र : गंगाबहादुर लामा (अध्यक्ष), बिबि थापा (उपाध्यक्ष)
स्वतन्त्र : विरबहादुर थापा भिमसेन (अध्यक्ष)
चौतारा साँगाचोकगढी नगरपालिका
कांग्रेस : केशवराज गिरी (मेयर), तुलसीमाया श्रेष्ठ (उपमेयर)
एमाले : इन्द्रबहादुर नेपाल (मेयर), बालकुमारी सापकोटा (उपमेयर)
माओवादी – समाजवादी : कृष्णप्रसाद सापकोटा (मेयर‚ माओवादी केन्द्र) , सिता थापा (उपमेयर‚ एकीकृत समाजवादी)
स्वतन्त्र : अमानसिं तामाङ (मेयर‚ माओवादी-बागी)
जुगल गाउँपालिका
कांग्रेस : माओवादी-समाजवादी : रेशम स्याङ्बो (अध्यक्ष, माओवादी केन्द्र), हिमाल श्रेष्ठ (उपाध्यक्ष‚ नेपाली कांग्रेस)
एमाले : जयबहादुर लामा (अध्यक्ष), सुनिता थापा तामाङ (उपाध्यक्ष)
इन्द्रावती गाउँपालिका
कांग्रेस : विकास लामा (अध्यक्ष), दयालक्ष्मी मिश्र (उपाध्यक्ष)
एमाले : झम्क नेपाल (अध्यक्ष), शोभाना तामाङ (उपाध्यक्ष)
माओवादी : ठूलोबाबु श्रेष्ठ (अध्यक्ष), सुमित्रा बस्नेत (उपाध्यक्ष)
मेलम्ची नगरपालिका
कांग्रेस : आइतमान तामाङ (मेयर), सविता गुरुङ (उपमेयर)
एमाले : बालकृष्ण देउजा (मेयर), उमादेवी प्रधान (उपमेयर)
समाजवादी–माओवादी : नानीराम चौलागाई (मेयर‚ एकीकृत समाजवादी) , देवेन्द्र घोरासैनी (उपमेयर‚ माओवादी केन्द्र)
राप्रपा : शेरबहादुर तामाङ (मेयर), कुमारी तामाङ (उपमेयर)
हेलम्बु गाउँपालिका
कांग्रेस : निमाग्याल्जेन शेर्पा (अध्यक्ष), अप्सरा लामिछाने (उपाध्यक्ष)
एमाले : दावा लामा (अध्यक्ष), गंगा अर्याल (उपाध्यक्ष)
माओवादी समाजवादी : पेमा ह्योल्मो (अध्यक्ष‚ माओवादी केन्द्र), सुदन पाख्रिन (उपाध्यक्ष‚ एकीकृत समाजवादी)
स्वतन्त्र : जिमी लामा (अध्यक्ष‚ कांग्रेस-विद्रोही)
पाँचपोखरी थाङपाल गाउँपालिका
कांग्रेस-माओवादी-समाजवादी : दोर्जे स्याङ्बो (अध्यक्ष‚ माओवादी केन्द्र), गंगा चापागाईं (उपाध्यक्ष‚ नेपाली कांग्रेस)
एमाले : टासी लामा (अध्यक्ष), सुनिता अधिकारी (उपाध्यक्ष)
राप्रपा : उदय सापकोटा (अध्यक्ष), कमला चापागाईं (उपाध्यक्ष)
स्वतन्त्र : माया गुरुङ (अध्यक्ष)
दल बदलेर उम्मेदवार
शनिबार नेपाली कांग्रेसका पुराना नेता जयबहादुर लामासहित जुगल गापा ३ र ५ का वडाध्यक्ष सानुकान्छा तामाङ, सनत अधिकारीले नेकपा एमाले प्रवेश गरे । लामा, वडाध्यक्षसहित अन्य कार्यकर्ता पनि एमालेमा भित्रिए । पार्टी प्रवेश गरेलगत्तै एमालेले लामालाई जुगल गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो ।
अघिल्लो स्थानीय निर्वाचनमा एमालेका होमनारायण श्रेष्ठबाट पराजित लामा यही स्थानीय निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष दाबेदार थिए । तर, कांग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि कुँडिएका लामासहित दुई वडाध्यक्ष एमाले प्रवेश भएर अध्यक्षकै उम्मेदवार बने । चौतारा साँगाचोकगढी नगरका मेयर अमानसिं तामाङ माओवादी केन्द्रले टिकट नदिएपछि एमाले जाने पूरै तयारीमा थिए ।
शुक्रबार अध्यक्ष प्रचण्डसँग भेटेका तामाङ माओवादी छाडेर एमाले नजाने भएपछि तालमेलको दाउपेच बदलियो । कांग्रेस(एमाले तालमेल गर्ने तामाङलाई उम्मेदवार दिने रणनीति असफल भएपछि एमाले पछि हटेको बताइन्छ । अघिल्लो स्थानीय तह २०७४ मा निर्वाचित त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष रहेका भूपेन्द्र श्रेष्ठले पुनः त्यही पदमा उम्मेदवारी दाबी गर्दैआएका थिए । तर, शनिबार आफ्नो प्रमुखमै भएको दाबेदारी निश्चित भएको टिकट खोसिएको गुनासो गर्दै एमाले पार्टी त्यागेको घोषणा गरे र कांग्रेसमा प्रवेश भए । तर‚ कांग्रेसले उनलाई टिकट दिएन ।