स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।
आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको यनको भनाई छ । उनले आज प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् ।
‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले पार्टीभित्र भइरहेका यस्ता क्रियाकलापबाट निराश नहुने तर गलत कार्यहरु तत्काल रोकिनुपर्नेमा जोड दिएका छन् ।
गलत क्रियाकलापका कारण कांग्रेस नेता–कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवार, कतिपय नेता अन्य पार्टीमा लागी मैदानमा जान बाध्य भएको भन्दै कोइारालाले त्यस्ता नेता–कार्यकर्ताहरुलाई कांग्रेसको मूल प्रवाहमा फर्किन आग्रह समेत गरेका छन् ।
