चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन राज्यमन्त्री उमेश श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर पुगेका छन् ।
पौडेललगायतका अन्य नेतालाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण भरतपुर रहेकै बेला राज्यमन्त्री श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर पुगेका हुन् । भरतपुर पुगेलगत्तै पौडेललाई भेट्न राज्यमन्त्री श्रेष्ठ उनको निवास पुगेका छन् ।
भेटमा पौडेल र श्रेष्ठबीच उम्मेदवारी फिर्ता लिने विषयमा छलफल भएको छ । पौडेलले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको बताइएको छ।
यसअघि नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाललगायतका नेताहरूले पनि पौडेललाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । तर, कांग्रेसका तर्फबाट मेयरमा स्वतन्त्र उम्मेदवारी पौडेलले दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको उम्मेदवारी फिर्ता गराउन प्रयास गरिरहेका छन् ।