आज सम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ।
नियमित पत्रकार सम्मेलनमार्फत आयोगले हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको बताएको जानकारी दिएको हो ।
त्यस्तै, आयोगले मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय भएको पनि जनाएको छ।
यसैगरी, मतदान स्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर बैशाख २८ गतेदेखि ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ।
आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने मिति बैशाख ३० गते शुक्रवारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ।