पार्टीबाट ३५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसके : अध्यक्ष नेपाल

17.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको बताएका छन्। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन्।

उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको उल्लेख गरे।

‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरूमध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा (एकीकृत समाजवादी)सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरू निर्विरोध निर्वाचित भए। १ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो। ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो।

उनले भने, '२६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो। झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा(एकीकृत समाजवादी)को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो। प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग।’

उनले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडि बढ्नुपर्ने बताए। उनले गठबन्धनभित्रका दलले अहंकार राख्न नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए। स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताए।

​

ताजा अपडेट
सम्बन्धित समाचार