काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि अहिले एमाले भित्र विवाद बढेको छ । ओली पक्ष र माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले आआफ्नो छुट्टाछुट्टै क्रियाकलाप गरिरहेका छन् । प्रतिनिधि सभामा नेकपा एमालेका १२० जना सांसद हुनुहुन्छ ।
प्रतिनिधि सभा पुनःस्थापनापछि दलको बैठक तीन पटक बसिसकेको छ । दलको विधान संशोधनको गृहकार्य भइरहेको भट्टराईले जानकारी दिनुभयो ।