स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति नै जारी गर्दै कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर कुटपिट गरेको दाबी गरेका छन् । भने नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।
दुबै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग गरेका छन् । यस्तै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन ।
जिल्लाको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका हुन् ।
घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।