भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । यूनेस्कोको निम्तो मान्न मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ ।
बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९यूनेस्को० ले २ जेठमा लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा मोदी सहभागी हुने छन् । स्रोतका अनुसार मोदी समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँगै लुम्बिनीमा आयोजना हुने यूनेस्कोको उक्त कार्यक्रममा सँगै सहभागी हुने भए पनि काठमाडौं आउने कार्यतालिका भने छैन ।
मोदीले त्यही दिन वृहत्त लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भारत सरकारको कुनै परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । तर, उक्त परियोजना के हो भन्ने अहिलेसम्म खुलेको छैन । लुम्बिनीको परिसरमा अन्य धेरै देशले आफ्नो संस्कृति झल्कने गुम्बासहितका संरचना निर्माण गरेका छन् । भारतले भने अहिलेसम्म केही बनाएको छैन । त्यसैले मोदीले भारतको परियोजना शिलान्यास गर्नेछन् ।
कार्यतालिकाअनुसार मोदी आएकै दिन भारत फर्किनेछन् । उनी बिहान करिब १० देखि ११ बजेको समयमा नेपाल आइपुग्ने छन् । लुम्बिनी क्षेत्रमा उनी ६ घण्टा बस्ने कार्यक्रम छ ।