काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले संसद पूनःस्थापना भएपछि नैतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । राजनैतिक रुपमा ओलीले बहुमत गुमाएपनि कानूनी रुपमा बहुमत कायमै रहेको उनको टिप्पणी रहेको छ ।
उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि आफ्नो पार्टीले ढिलाई गर्नुको कारण अहिलेपनि कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालबीच ठोस सहमति नहुनु नै रहेको स्पष्ट पारेका छन् ।
प्रवक्ता शर्माले ओली नेतृत्वको सरकार हटाउने सवालमा ठोस सहमति नभएको जिकिर गरे । उनले आफूहरुले प्रधानमन्त्री पद चाहियो भनेर नभनेको पनि स्पष्ट पारे । अहिले कांग्रेसले झ्यालबाट हेरिरहेको उनको भनाई छ । ओलीले गरेको संसद् विघटन असंवैधानिक भनेर आफ्नो पार्टीले भनिसकेको उल्लेख गर्दै उनले अवस्था परिपक्व भएपछि निर्णायक कदम चाल्ने बताए ।