काँग्रेसले जिते मात्र संविधान र व्यवस्था जोगिन्छ : प्रकाशमान सिंह

28.6k Shares
सम्बन्धित पार्टी

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’ चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा काँग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उपप्रमुख उम्मेदवार छ ।

सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरि लाग्नु पर्ने समेत बताए । ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरि प्रचार९प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’ गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले काँग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरे। ‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ,’ उनले भने, ‘ओली पटक पटक संविधान र व्यवस्था माथि प्रहार गरेकाले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नु पर्ने बाध्यता रहेको कुरा बुझ्नुपर्छ ।’

अब हामी सबै एक भएर काँग्रेसका उमेदवारहरू जिताउँदा व्यवस्था जोगिन्छ, संविधान सही बाटोबाट हिँडाउन सकिन्छ । स्थानीय तहको चुनाव जित्दा संघीय र प्रदेश निर्वाचन जित्न पनि सजिलो हुने भन्दै सबैको ध्यान वैशाख ३० गतेको निर्वाचनमा केन्द्रीत गर्न समेत आग्रह गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार