नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरेर अनाधिकृत रुपमा ट्वीटर खोलिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफ्नो नाम र तस्बीर प्रयोग गरेर खोलिएका अकाउण्टबाट स्थानीय निर्वाचन सम्बन्धी गलत सूचना सम्प्रेशण गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘मेरो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले भने ।
उनले बुधबार सूचना जारी गर्दै आफ्नो आधिकारीक ट्वीटर रहेको र अन्य कुनै ट्वीटर नभएको बताउँदै त्यसबाट भ्रममा नपर्न समेत आग्रह गरेका छन् । त्यसैगरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिरकारीलाई विवादमा ल्याउने काम नगर्न समेत गरेका छन् ।
‘मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु । ’ उनले भने, ‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’