शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्। करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने उनले दाबी गरेका छन ।
सचिव कोइरालाले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताए।
उनले भने, ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो। वैशाख १ गतेबाट किताब वितरण गर्ने फाइनल स्टेजमा थियौँ। बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन्। निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने यो त सरकारी हो। टेण्डर गरेको हुन्छ। टेण्डर गरेको कारणले सप्लायर्सले सामान नै भेटेन। चुनावको कारणले पनि छाप्न सकिएन। यसमा थोरै मात्रै छाप्न बाँकी रहेको कारणले बिस्तारै गर्ने प्राथमिकता निर्वाचनलाई दियौँ। हामीले ५ गतेबाट कितावहरु वितरण गर्न थाल्नेछौँ।’
सरकारले समयमै पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यामिक तहसम्मका विद्यार्थीहरूले शैक्षिक सत्र सुरु हुँदासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन्।
विशेष गरी कक्षा ४,७ र ९ को पाठ्यपुस्तक नयाँ लागू भएको छ। तर समयमा पाठ्यपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरू पाठ्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन्। विद्यालयहरूमा पाठ्यपुस्तक जेठको पहिलो हप्तासम्म पनि नपुग्नु शिक्षामाथि राज्यको हेलचक्राइँ भएको अध्यापकहरूको बुझाइ छ।