काठमाडौं महानगरपालिकाकी मेयर उमेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएकी छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले जति मत आए पनि जनताको मतको सम्मान गर्ने बताएकी हुन् ।
उनले महानगरमा अझै धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको बताइन् । उनले केही वडामा राम्रो परिणाम आउनुपर्ने भए पनि सोचेजस्तो मत नआएको जिकिर गरिन् । उनले मतगणनापछि समीक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरिन् ।
काठमाडौं महानगरमा ६० हजारभन्दा बढी मतगणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले फराकिलो मतान्तर कायम गरेका छन् । एमालेका केशव स्थापित दोस्रो र कांग्रेसका सिंह तेस्रो स्थानमा छिन् ।