बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षकसहित १५ जना घाइते भएका छन् ।
महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जुलुसमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाईते भएका छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ ईनर्वा टोलमा पुगेको थियो ।
जुलुसमा सहभागीले अपशब्द प्रयोग गरेको भन्दै स्थानीय आक्रोशमा आएका थिए । सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो ।
प्र।स।नि।साह समेत घाईते भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । भने वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ ।