प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले गर्दा स्थगित भएको बागमती प्रदेशसभा बैठक पुनः सुरु भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेपछि स्थगित भएको थियो। मुख्यमन्त्री राजेन्द्र पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईं र मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधिविपरीत नदिएको भन्दै तीनजना कर्मचारीहरुको सरुवा गरेको एमालेको आरोप छ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा यस विषयमा छानबिन गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरोध गरेको थियो। एमालेको अवरोधपछि बैठक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक राखेका थिए।
सर्वदलीय बैठकमा एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री पाण्डेले जवाफ दिने र उक्त विषयमा प्रदेशका मुख्यसचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमतिपछि प्रदेशसभाको बैठक सुरु भएको हो।
१० मिनेटको लागि स्थगित भएको बैठक दुई घन्टा ढिला गरी सुरु भएको हो।