काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नुवाकोटको सिसडोल पुगेका छन् । मेयर साह उपमेयर डंगोलसहितको टोलीलाई लिएर शुक्रबार बिहानै सिसडोल पुगेका हुन् ।
फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न उनीहरु सिसडोल पुगेका हुन् । स्थानीयले आफ्नो समस्याका बारेमा मेयर साहलाई जानकारी गराएका छन् । डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् । मेयर साह र उपमेयर डंगोलले बिहीबार मात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे चासो राखेका थिए ।
यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए । साहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन् ।