काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकार विस्थापनको पक्षमा एक हुन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन् ।
आइतबार विहान हात्तिवनमा महन्थ र पौडेल दुई नेताबीच करिब आधा घन्टा वार्ता भएको थियो । पौडेलले तीन दलका नेतृत्व बसेर सहमतिको खाका बनाउन आग्रह गरेका थिए ।
पौडेलले महन्थलाई सल्लाह दिंदै भने "तपाईं हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्ड बसेर सहमति बनाउनोस् " उहाँले भन्नुभयो । मोटामोटी खाका बनाएर नयाँ सरकारका निर्माण गर्न पौडेलले आग्रह गरेका थिए । प्रत्युत्तरमा महन्थले पार्टीमा छलफलकै क्रममा रहेको प्रतिक्रिया दिएको पौडेलको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पार्टीले निर्णय गरेपछि पौडेलले नयाँ सरकारको पहल गर्ने क्रममा महन्थलाई भेटेका हुन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकले वैकल्पिक सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको थियो ।