नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए। उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए।
उनले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे।
प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न नमानेको तर्फ संकेत गर्दै उनले भने – ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो। अरुले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा(एकीकृत समाजवादी)ले गर्छ, यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो।'
समाजवादीले बहालवाला ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले नमान्दा नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको छ।