काठमाडाैं : क्रियाशील सदस्यता वितरण र नवीकरणमा पार्टीबाट असहयोग भएको भन्दै नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले दिएको राजीनामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको छ।
अधिकारीका अनुसार विगतमा पार्टीले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पटक-पटक समय थपे पनि कार्यतालिका अनुसार काम भएको छैन । पार्टी केन्द्र तथा तल्लो तहका कार्यसमितिले असहयोग गर्दा कार्यतालिका अनुसार काम गर्न नसकिएको निर्वाचन समितिका सदस्यहरुले बताउँदै आएका छन् ।
२०७५ को चैतमा अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे, सीताराम केसी, खम्बबहादुर खाती र एकराज पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । पछिल्लो समय चैत मसान्तसम्मका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको नाम केन्द्रमा पठाउने समय तोकिएको छ। नाै जिल्लाले हालसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य थालनी गरेका छैनन् ।
निर्वाचन समितिले क्रियाशील सदस्यता तथा पार्टीका सबै तहका निर्वाचनका मतदाताहरुको विवरण राख्ने र अद्यावधिक कार्य गर्ने जिम्मेवारी रहेको हुन्छ। पार्टी संरचनाका हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन समितिले बनाउँछ। निर्वाचन समितिले आफ्ना कार्य पार्टी केन्द्रीय समितिलाई बुझाउनुपर्ने हुन्छ ।