नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई एकपटक सर्वसाधारण भएर इम्बोस्ड नम्बर लिने लाइन बस्न आग्रह गरेका छन्।
संसद बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा बोल्दै थापाले नागरिकले दुःख पाइरहेको भन्दै यस्तो आग्रह गरेका हुन्।
‘म माननीय मन्त्रीज्यूलाई एकपटक यातायातको कार्यालयमा मन्त्री नभइकन सर्वसाधारण नागरिक भएर इम्बोस्ड नम्बर प्लेट लिने लाइनमा बसिदिन आग्रह गर्छु, थापाले भने, ‘सेवाग्राहीले ठूलो सास्ती पाएका छन्, नागरिकलाई यसरी दुःख दिन पाइँदैन।’
यसको लागतदेखि भाषासम्म थुप्रै प्रश्नहरुको जवाफ त दिनैपर्छ भन्दै थापाले असार महिनाभित्र यातायात कार्यालयले कुनै हालतमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसक्ने बताए। तत्कालका लागि निर्णय सच्याउन उनले सरकारको ध्यानाकर्षण गराए।
असार मसान्तसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न र नगरे कारबाही गर्ने सरकारको चेतावनी पछि अहिले यातायात कार्यालयमा थेगिनसक्नु भीड लागेको छ।